बन्दीपुरका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स



तनहुँ । बन्दीपुर गाउँपालिकामा सुत्केरीका लागि बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

गाउँ कार्यपालिका बैठकले गाउँपालिकाभित्रका सुत्केरीलाई बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको हो ।


बन्दीपुर अस्पतालमा उपचार हुन नसकि दमौली अस्पतालसम्म लैजानुपरेको अवस्थामा पनि निःशुल्क रुपमा सेवा दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाले विगत १० वर्षयता विदेशबाट नेपाल फर्किएर नेपालमै व्यवसाय गरेको वा व्यवसाय गर्न चाहने नागरिकलाई व्यावसायिक अनुदान कार्यक्रम ल्याएको छ । विदेशबाट फर्किएका २५ देखि ४० वर्षभित्र उमेरसम्मका व्यक्तिलाई बढीमा एक लाखसम्म अनुदान दिन लागिएको उनले बताए ।

उक्त सेवा लिनका लागि राहदानी, श्रम स्वीकृति, व्यवसाय दर्ता, नागरिकता, फोटो, व्यावसायिक योजनालगायतका कागजपत्र पेस गर्न गाउँपालिका कार्यालयले अनुरोध गरेको छ ।

त्यसैगरी बन्दीपुर–१ कार्यालयले घरबाट बाहिर निस्कन नसक्ने नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

अशक्त, अपाङ्गता तथा हिँडडुल गर्न नसक्ने नागरिकका आफन्तले वडाबाट सिफारिस लगेपछि बुझेको भत्ता रकम सम्बन्धित व्यक्तिलाई नदिइ खर्च गर्ने गरेको गुनासो आएपछि घरमै पुगेर भत्ता वितरण कार्य थालिएको हो ।

मुक्तिनाथ विकास बैक डुम्रे शाखासँग समन्वय गरी हिँडडुल गर्न नसक्ने नागरिकलाई घरमै पुगेर भत्ता वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

वडाभित्र रहेका २३ यस्ता नागरिकलाई चौमासिक रु बाह्र हजारका दरले भत्ता वितरण गरिएको र अन्य व्यक्ति पनि पहिचान गरी सेवा प्रदान गर्न लागेको सो वडाले जनाएको छ ।

हातमा पैसा पाएपछि आफूलाई मन लागेको कुरा किन्न पाउने भएपछि उनीहरुमा खुसी छाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।