गुच्चीच्याउ आम्दानीको स्रोत बन्दै



मुगु । सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ । उनी बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझ अबेर मात्र घर फर्कन छिन्।

हिमपात र वर्षा धेरै भएकाले यसपालि गुच्चीच्याउको उत्पादन राम्रो भएको जनाउँदै उनी दिनभरि गुच्चीच्याउ टिप्न व्यस्त भएकी छिन् । गत वर्ष च्याउ टिपेर २५ हजार कमाएकी उनलाई यस वर्ष झन् बढी पैसा कमाउने धोको छ ।


ताजा गाउँकी बेलसरा बुढाले पनि वनजङ्गलमा बाख्रा चराउँदै गुच्चीच्याउ सङ्कलन गर्ने गरेकी छिन् । गत वर्ष च्याउ बेचेर उनले ४० हजार कमाएकी थिइन्  ।

जिल्लाका ग्रामीण भेगका बासिन्दालाई अहिले गुच्चीच्याउ टिप्ने चटारो छ । जिल्लामा बर्सेनि चैतको पहिलो सातादेखि गुच्चीच्याउ टिप्ने ‘सिजन’ सुरुआत हुन्छ । विपन्नको मुख्य आयस्रोतका रूपमा चिनिने च्याउले बर्सेनि राम्रो मूल्य पाउन थालेको छ । यस वर्ष भारी हिमपात र अधिक वर्षा भएकाले गुच्चीच्याउको राम्रो उत्पादन भएको स्थानीयवासीको आशा छ ।

‘जङ्गलमा च्याउ टिप्दैमा दिन बित्ने गरेको छ,’ उनले भने, ‘च्याउ नटिपे वर्षभरिको खर्च धान्न मुस्किल हुन्छ, त्यसैले नवजङ्गलको च्याउलाई मुख्य आयआर्जनको स्रोत बनाएका छौँ ।’ च्याउ टिप्न बिहानै नवजङ्गलमा जानुपर्ने र साँझ मात्र घर फर्किने भएकाले पहिले नै खानपिनको व्यवस्था गर्नुपर्ने उनले बताए ।

स्थानीय बजारमा गुच्चीच्याउको मूल्य प्रतिकिलो रु १४ हजारदेखि १७ हजारसम्म पर्ने स्थानीयवासीको भनाइ छ । केही व्यापारीले प्रतिगोटा सात रुपैयाँमा च्याउ किन्ने गरेका छन् । जिल्लाको खत्याड, सोरु, मुगुमकार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका अधिकांश जङ्गलमा गुच्चीच्याउ पाइन्छ छ ।

बेँसीतिर उम्रिने गुच्चीच्याउ पहेँलो आकारको हुने र लेकमा उम्रने च्याउ कालो आकारको हुने सोरु गाउँपालिकाकच्चेका कलबहादुर कार्कीले बताए । उनका अनुसार च्याउ टिप्ने समयमा गाउँमा ज्येष्ठ नागरिक र अशक्त मात्र घरमा बस्छन् ।

बालबालिकासमेत पढाइ छाडेर गुच्चीच्याउ टिप्न जाने गरेका छन् र च्याउको सिजनका बेलागाउँबस्ती सुनसान हुने गरेको छ । निगालो, पीपल, उन्युँ बढी भएको जङ्गलमा गुच्चीच्याउ बढी उम्रिने गरेको छ ।

उनका अनुसार उम्रेको दुई सातासम्म टिप्न नसके कुहिने, वन्यजन्तु र चराले खाने समस्या छ । सोरु गाउँपालिकाको रुम, रारा गिलाहा, धैनकोट, कालै, फोतु नेर, नार्थपु, खत्याड गाउँपालिकाको खमाले, गम्था, निगालबोट तथा मुगुमकार्मारोङ गाउँपालिकाको चितै, माग्री, पापु गाउँका जङ्गलमा च्याउ बढी पाइन्छ ।

जिल्लामा उत्पादित गुच्चीच्याउ नेपालगन्ज, काठमाडौं र तिब्बत्सम्म जाने गरेको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मेलबहादुर शाहीले बताए । उनका अनुसार व्यवसायीले गाउँमै पुगेर च्याउ सङ्कलन गर्छन् ।

उनले जिल्लामा करिब २० क्विन्टल बढी गुच्चीच्याउ पाइने गरेको बताए । सोरु गाउँपालिकाको वन क्षेत्रमा सङ्कलन हुने च्याउ व्यापारीले हुम्लाको हिस्सा नाका हुँदै तिब्बती बजारमा पुर्याउने गरेका छन् । गुच्चीच्याउको तरकारी मासुजस्तै स्वादिलो हुने र औषधि निर्माणमासमेत प्रयोग गरिने भएकाले यसको माग बढेको उनको भनाइ छ ।