गठबन्धनमा हाम्रो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको छः माधव नेपाल



कर्णाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको भन्दै योगदान नबिर्सन चेतावनी दिएका छन् ।

बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादी केन्द्रमा घमण्ड बढ्दै गएको आरोप लगाएका हुन् । उनले माओवादी पार्टीको व्यवहारबाट आफ्ना पार्टीका साथीहरू धेरै दुःखित भएको बताए ।


उनले भने, ‘कर्णालीमा हाम्रो पार्टीलाइ पुरै बेवास्ता गरिएको छ, यो राम्रो होइन । म भन्न चाहन्छु– दम्भ र घमण्डले रावण जन्मायो, दम्भ र घमण्डले अर्काे रावण जन्माउने काम नगर्नूस्।’

उनले गठबन्धनको स्प्रिटअनुसार सरकारले काम गर्न नसकेको बताए । देश र जनताको पक्षमा रहेर काम गरुन् भन्ने आफ्नो चाहना रहेको भन्दै उनले सीमित साधन स्रोतको अधिकतम प्रयोग गर्न सुझाव दिए । आफ्नो पार्टी नयाँ अभियानका साथ अघि बढिरहेको भन्दै अध्यक्ष नेपालले भ्रष्टाचारलगायत सबै खालका विकृतिबाट टाढा रहने र अरू भन्दा भिन्न देखिने बताए ।