उज्बेकिस्तानद्वारा संविधान सुधारको पक्षमा मतदान : निर्वाचन आयोग



उज्बेकिस्तान । उज्बेकिस्तानका मतदाताले राष्ट्रपति शावकत मिर्जियोयेभलाई सन् २०४० सम्म सत्तामा रहिरहन सक्ने गरी गरिएको संवैधानिक परिवर्तनको समर्थन गरेका छन् । निर्वाचन आयोगका अनुसार करिब ९० प्रतिशत मतदाताले सुधारको समर्थन गरेका छन् भने पूर्व सोभियत मुलुकमा करिब ८५ प्रतिशत मतदान भएको छ ।

मतदान नतिजाबारे प्रतिक्रिया जनाउँदै अधिकारवादी समूहहरूले सरकारको अधिनायकवादी प्रवृत्तिले असहमतिका लागि ठाउँ सीमित गरेको बताएका छन् । तत्कालिन शासक इस्लाम करिमोभको सन् २०१६ मा मृत्युपछि ६५ वर्षीय मिर्जियोयेभ राष्ट्रपति बनेका थिए । तीन करोड ५० लाख जनसङ्ख्या भएको भूपरिवेष्ठित मध्य एशियाली मुलुकमा संविधान संशोधनले शासन व्यवस्था र जीवनस्तरमा सुधार ल्याउने उनको भनाइ छ ।


तर पर्यवेक्षकहरूका अनुसार मिरजियोयेभलाई मुस्लिम बहुल देशमा सबैभन्दा बढी फाइदा पुग्ने अपेक्षा गरिएको छ । प्रस्तावित परिवर्तनले राष्ट्रपतिको कार्यकाल पाँच वर्षबाट बढाएर सात वर्ष पु¥याउनेछ र उनलाई थप दुई कार्यकाल सेवा गर्न सक्ने आधार मतदानबाट मिलेको छ । यस कानुनी संशोधनसँगै उनले सन् २०४० सम्म आफ्नो कार्यकाल लम्ब्याउन सक्नेछन् ।