वार्ता टोलीमार्फत सरकार र महाबीर पुनबीच औपचारिक छलफल हुने



काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच औपचारिक वार्ता हुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भएको छलफलपछि वार्ता टोली बनाएर वार्ता सुरु गर्ने निर्णय भएको पुनले जानकारी दिएका छन् ।

सरकारले कुल बजेटको एक प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने जस्ता माग राखेर गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका पुन र उप्रधानमन्त्री खड्काबीच आइतबार दिउँसो छलफल भएको थियो ।


रक्षा मन्त्रालयमा मुख्यसचिव शंकरदाश वैरागीसमेत सहभागी छलफलमा आइतबार बेलुका ५ बजेसम्म वार्ता टोली गठन गर्ने निर्णय भएको पुनले जानकारी दिएका छन् । उनले भने ‘आज दिउँसो २ बजे प्रधानमन्त्रीज्यूको निर्देशनमा उपप्रधानमन्त्री पुर्णबहादुर खड्का ज्यू र मुख्य सचिवज्यूसँग हाम्रो मागको बारेमा छलफल गर्नको लागि वार्ता टोली ५ बजे सम्म गठन गर्ने र वार्ता सुरु गर्ने भन्ने निर्णय भयो ।’