कर्णालीका मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदै 



सुर्खेत । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रो पटक विश्वासको मत लिने भएका छन् ।

शुक्रबार अपराह्न ३ बजे बस्ने कर्णाली प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिनेछ भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रुपमा शुक्रबारदेखि औपचारिक रुपमा सदनमा उपस्थिति जनाउनेछ ।


आजै कर्णाली प्रदेश सभाका विभिन्न चार वटा समितिले पनि पूर्णता पाउने भएका छन् । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार सदनमा रहेका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र प्रदेश मामिला समितिमा रहने सदस्यहरूको नामावली सदनमा रहेका दलहरूले सचिवालयमा बुझाइसकेका छन् ।

‘उहाँहरुले दलबाट प्रतिनिधित्व हुने गरी चार वटा समितिका लागि सांसदहरूको नाम पठाइसक्नु भएको छ,’ सचिव बुढाथोकीले भने, ‘आज बस्ने प्रदेशसभा बैठकमा सभामुख ज्यूले नाम पढेर सुनाउनु हुन्छ । त्यसपछि समितिले पूर्णता पाउँछ ।’

समितिले पूर्णता पाए पनि समितिको अध्यक्षको निर्वाचन भने पछि हुनेछ । ‘अहिले समितिको ज्येष्ठ सदस्यले समितिको अध्यक्षता ग्रहण गर्नेछन्,’ उनले भने, ‘त्यसपछि समितिले निर्वाचन प्रक्रियाअघि बढाएर अध्यक्ष चयन गर्नेछन् । अब समिति बनेको छैन भन्ने गुनासो भने रहँदैन ।’