नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ हुँदै



काठमाडौँ । उपनिर्वाचनबाट निर्वाचित तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना र जनता समाजवादीका एक जना उपनिर्वाचनबाट चुनिएका छन् ।

चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित रास्वपाकै स्वर्णिम वाग्ले तथा बारा २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले बिहान साढे ११ बजे शपथ लिने कार्यक्रम तय भएको छ। उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् ।


गत मंसिर ४ को निर्वाचनबाट तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेसँगै यी दुई क्षेत्र रिक्त भएका थिए । यसैगरी चितवन २ बाट निर्वाचित लामिछानेको नागरिकता विवादले पदमुक्त भएपछि पुन: चुनाव भएको हो।

यही वैशाख १० गते उपनिर्वाचन भएको थियो ।