राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न मुस्किल



काठमाडौं । चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न मुस्किल देखिएको छ ।

भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि सङ्कलन नभएको देखिएकाले चालु आर्थिक वर्षमा लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएको हो ।


भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा चैत मसान्तसम्म पाँच करोड ३१ लाख ६८ हजार एक सय ८७ अर्थात् कूल लक्ष्यको ३१ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ ।

भन्सारले १६ करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्नका लागि भन्सार कार्यालयले बाँकी रहेको तीन महिनामा ११ करोड ६२ लाख ७२ हजार आठ सय १३ रुपैयाँ राजस्व सङ्कलन गर्नुपर्ने देखिन्छ ।

भन्सार कार्यालयका निमित्त प्रमुख तुलसीराम थारुले चालू आर्थिक वर्षमा राजस्वको लक्ष्य भेटाउन मुस्किल रहेको बताए । ‘चैतसम्म कूल राजस्वको ३१ प्रतिशत मात्रै सङ्कलन भएको छ ।

अब तीन महिनामा त्यस्तो कुनै चमत्कार नै भन्न सकिँदैन, नभए यस वर्ष लक्ष्य पूरा हुँदैन’, उनले भने, ‘अहिलेको आर्थिक मन्दीका कारण राजस्व सङ्कलनमा गिरावट आएको हो । दिनभर भन्सार सुनसान हुँदा राजस्व कसरी उठ्छ ? उनका अनुसार उठेको राजस्व पनि सबै आयातित सामानबाट सङ्कलन भएको हो ।’

सत्ती भन्सारबाट निर्यात भने शून्य जस्तै भएको निमित्त प्रमुख थारु बताउँछन् । ‘भन्सारबाट आउने सबैभन्दा बढी भनेको हार्डवेयरको सामान हो । त्यसपछि छिटफुट कपडालगायतका सामानको आयात हुन्छ’, थारुले भने, ‘त्यसबाहेकको सामान आयात निकै कम हुन्छ । तरकारीलगायतका वस्तुको आयातका लागि क्वारेनटाइन छैन । त्यो भए राजस्व बढ्थ्यो की ?।’

मूल भन्सार कायम भएपछि सत्ती भन्सार कार्यालयले एक वर्ष मात्रै लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा भन्सार कार्यालयले एक सय ११ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

उक्त आर्थिक वर्ष भन्सार कार्यालयले रु १४ करोड २३ लाख ४८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकामा रु १५ करोड ८३ लाख सात हजार नौ सय ७३ राजस्व सङ्कलन गरेको थियो । त्यसभन्दा अन्य कुनै पनि वर्ष लक्ष्यअनुसारको राजस्व सङ्कलन नभएको थारु बताए ।

गत आवमा पनि भन्सारले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेन । भन्सारले गत वर्ष पनि रु २० करोड ५८ लाख ६१ हजारको लक्ष्य लिएकामा रु १० करोड ६७ लाख ९३ हजार छ सय चार राजस्व सङ्कलन गर्न सकेको थियो ।

यो लक्ष्य सत्ती भन्सार कार्यालय स्थापनादेखिकै सबैभन्दा बढी हो । आर्थिक वर्ष २०७५/७६ मा मूल भन्सारका रूपमा विकास भएको सत्ती भन्सार कार्यालयले त्यस वर्ष लक्ष्यको ६३ दशमलव २३ प्रतिशत अर्थात् पाँच करोड ६९ लाख ११ हजार छ सय ७३ राजस्व सङ्कलन भएको थियो । भन्सारलाई नौ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो ।