तनहुँ । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्ले निर्वाचित भएका छन् ।
उनी ३४ हजार ९१९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाए । वाग्ले र भट्टराईबीचको मतानतर १४ हजार ६९ छ ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरे । यो क्षेत्रमा ६५ हजार २९८ मत खसेको थियो ।
०७९ मंसिर ४ मा भएको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो ।
पार्टी परिवर्तन गरी चुनाव लडेका वाग्ले अर्थविद् हुन् । उनले अष्ट्रेलियाको अष्ट्रेलियन नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
उनले गएको चैत १६ गते कांग्रेस परित्याग गरेका थिए । त्यसपछि रास्वपा प्रवेश गरी उम्मेदवार बनेका हुन् ।
त्यसअघि, उनी नेपाली कांग्रेसको महासमिति सदस्य समेत बनेका थिए । साथै, स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको घोषणापत्रको मस्यौदा समितिमा पनि सक्रिय रहेका थिए ।