लुम्बिनी । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । सोमबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो ।
प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत खसेको छ ।
मुख्यमन्त्री गिरी आज दोस्रोपटक विश्वासको मत लिन प्रदेशसभा पुगेका थिए । यसअघि सात दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीलाई नेकपा माओवादी केन्द्रलगायत दलले दिएको समर्थन गत चैत १२ गते फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।
सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको हो । पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएपछि सरकार बनेको ७४ दिनमै अल्पमतमा परेको थियो ।
८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै पक्षमा मतदान गरेका छन् ।
बाँकी नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १/१, स्वतन्त्र १ गरी ५३ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।
लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।
यसअघि विश्वासको मत नपाएपछि सुदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलिसकेको छ । अब कोसी प्रदेशमा मात्र एमालेको सरकार छ ।