काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा सुनुवाई हुने भएको हो ।
यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले उक्त मुद्दामा दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न आदेश दिएको थियो। गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।
त्यसपछि असोज २० गते उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए । पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियाे ।