बाग्लुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च भएको बताएका छन् ।प्रतिनिधिसभा सदस्य केसीले निर्वाचन कार्यालयमा बुझाएको विवरणमा १८ लाख १४ हजार खर्च भएको जनाएका हुन्।
जसअनुसार सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, कार्यालय सञ्चालनमा २ लाख ५० हजार, मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, प्रतिनिधि परिचालनमा २ लाख ५० हजार खर्च भएको जनाएका सांसद केसीले प्रचार सामग्रीमा २ लाख १० हजार, सामग्री ढुवानीमा २० हजार, विद्युतीय छापा खर्च ४० हजार खर्च गरेको विवरण आयोगलाई बुझाए ।
यसैगरी, सामाजिक सञ्जाल खर्च १० हजार र विविध खर्चमा १ लाख ३४ हजारसहित १८ लाख १४ हजार खर्चको विवरण आयोगलाई बुझाएको केसीको निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए । केसी गत मंसिर ४ को निर्वाचनमा बागलुङ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी सत्तारुढ गठबन्धनका उम्मेदवार थिए ।