खलङ्गा । पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुग्ङे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका–१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाए पछि पुल बन्द गरेका हुन् ।
गाउँपालिकाको रु दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर लम्बाइ भएको उक्त पुलको विसं २०७६ मा निर्माण सुरु भएको थियो । दुई वर्षभित्र पुल निर्माण गर्नुपर्ने समय सीमा रहेको पुलमा अहिले पनि लोड टेस्टलगायतका काम बाँकी रहेकाले अन्तिम किस्ता भुक्तानी हुन बाँकी रहेको गाउँपालिका–१ का वडाध्यक्ष जीतबहादुर बमले बताए ।
पुलमा केही संरचनाको प्राविधिक परीक्षणमा त्रुटिसमेत भेटिएको र पुलको छेउतिरको एक लठ्ठासमेत खुस्किएको अध्यक्ष बमले बताए ।
पुल निर्माणको भौतिक काम सम्पन्न भएको दुई वर्ष समय हुँदासमेत ठेकेदार कम्पनीले श्रमिकको ज्याला भुक्तानी नगरेको भन्दै स्थानीय श्रमिकले शुक्रबारदेखि पुल बन्द गरेको दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले बताए । पटक–पटक काम गरेको ज्यालाका लागि आग्रह गर्दा पनि ज्याला नपाए पछि पुल नै बन्द गर्नुपरेको श्रमिक मजदुरहरुको भनाइ छ ।
झोलुङ्गे पुलको दुवैतिर तारजाली र जस्तापाता लगाएर बार लगाइएको छ । पुल बन्द भएपछि जिल्ला सदरमुकाम खलङ्गा आउने र काम विशेषले गाउँपालिकाको कार्यालयसम्म जाने नागरिकलाई दुई घण्टा लामो बाटो भएर जानुपर्ने अवस्था सिर्जना भएको छ ।