काठमाडौँ । प्रतिनिधिसभाको रिक्त तीन वटा निर्वाचन क्षेत्रमा अहिले मतदान जारी छ । बिहान ७ बजेबाट जारी मतदानको धेरैजसो क्षेत्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन भइरहेको हो । दिउँसो १ बजेसम्म बारा–२ मा ३६ प्रतिशत मत खसेको छ । बाराका निर्वाचत अधिकृत मुकेश उपाध्यायका अनुसार दिउँसो १ बजेसम्म ३६ प्रतिशत मत खसेको हो ।
‘अहिले (१ बजे) सम्म ३६ प्रतिशत मत खसेको छ,’ उपाध्यायले भने, ‘यहाँ शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।’ सामाजिक सञ्जालमार्फत बाराको निर्वाचन क्षेत्रबारे आएका सूचनाहरूमा सत्यता नभएको उनले बताए ।
त्यस्तै, चितवन–२ मा ३५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेका अनुसार १ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान भएको छ । उनका अनुसार अहिलेसम्म अधिकांश मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
उता तनहुँ क्षेत्र नम्बर १ मा पनि ४० प्रतिशत बढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद आचार्यका अनुसार ४० दिउँसो १ बजेसम्म ४० देखि ४५ प्रतिशत मत खसिसकेको छ ।
उनका अनुसार तनहुँमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदाताहरू उत्साहित हुँदै मतदानमा सरिक भएको आचार्यले नेपालखबरलाई बताए । ‘बिहान अत्यधिक मत खस्यो । अहिले गर्मीका कारण केही कम भएको छ,’ उनले भने, ‘फेरि ४ बजेपछि मतदानको अनुपात बढ्छ ।’ तनहुँ–१ मा ६० देखि ६३ मत खस्ने अनुमान रहेको पनि उनले बताएका छन् ।