माफी माग्दै प्रकाश सपुतले भने- समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुँदै होइन



काठमाडौं । ‘सकम्बरी’ गीतलाई लिएर भइरहेको विवादमा गायक प्रकाश सपुतले माफी मागेका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो सिर्जनाले चोट पुगेका सबैप्रति क्षमा मागेका हुन् ।

उनी लेख्छन्, ‘मेरो  सिर्जनाले प्रत्यक्ष÷अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु ।’


धेरैले गीत सुनेर, हेरेर, टिकटक बनाएर मनोरञ्जन लिनुभएको छ । केहीले यसको विषयवस्तुलाई गम्भीर रुपमा मनन गर्नुभएको छ र हामीलाई धन्यवाद दिनु भएको छ । अलिकतिले चाहिँ यसका केही कमजोरीहरु औंल्याउनु भएको छ । यति धेरै माया, प्रसंसा र खबरदारी गरेर एउटा सिर्जनामा तपाईँहरुको सहभागिता साच्चिकै म्याजिकल छ । अमूल्य छ । सबैखाले प्रतिक्रियालाई मनन गरेको छु । माया र प्रसंसाले हौसला मिलेको छ भने खबरदारीले सचेत गराएको छ । तपाईँहरु सबैलाई एकमुष्ट रुपमा धन्यवाद मात्रै दिए पुग्छ कि जस्तो लाग्यो है ।
तर आधिकारिक संस्थाले प्रेस विज्ञप्ति नै निकाल्नु भएकाले यो विषयलाई चाहिँ सम्बोधन गर्नुपर्छ जस्तो लाग्यो..

श्री अध्यक्ष ज्यू !
रात्रिकालीन मनोरन्जन व्यवसायि संघ, काठमाडौं ।
पछिल्लो गीत ‘सकम्बरी’ ले उठाउन खोजेको महिला यौन हिंसाको विषय गम्भीर र साझा विषय हो । यो सबै क्षेत्रमा छ । अझ भनौं विश्वव्यापी छ । यो व्यक्ति विशेष छ, दृष्टि विशेष छ प्रवृत्ति विशेष छ । त्यसैले यो एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वभाविक हो । र कुनै अर्को क्षेत्रमा छदैछैन भन्नु पनि अपत्यारिलो हो । तर पात्र र पात्रको पृष्ठभूमि तयार गर्दा रात्रीकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको छ । यो एउटा शैली हो । कथा निर्माण प्रक्रिया हो । यसलाई कुनै अधिकारिक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला । यसलाई कथा वा कला सामग्रीको रुपमा बुझिदिनु होला । यदि रात्राकालीन मनोरन्जन व्यवसायी (दोहोरी साँझ) हुँदैनथ्यो भने म एउटा कलाकारको रुपमा स्थापित हुँदैन थिएँ । म सधै ऋणी छु । आभारी छु । र साथै ईमान्दारीताका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुँदैन्थ्यो भने ‘सकम्बरीको’ कथा पनि मसँग हुँदैनथ्यो । गीत र भिडियोलाई लिएर प्रेस विज्ञप्ति र अन्तरवार्ताहरु आएपछि म शुरुमा अलिकति झस्किएँ । तर अहिले म खुसी छु । तपाईँहरु रात्रीकालीन मनोरञ्जन व्यवसायलाइ व्यवस्थित र मर्यादित बनाउन संस्थागत भएर लागिरहनु भएको रहेछ ।

५ वर्ष साँझमा काम गर्दैगर्दा मैले अपमानजनक दृष्टिकोण खेपेको छु । थुप्रै नैतिक प्रश्नहरुको सामना गरेको छु । तर त्यहीँबाट म जस्तै थुप्रैले आफ्नो जीवनको लय भेट्टायौं र अगाडि बढ्यौं । त्यसैले समग्रमा क्षेत्र राम्रो /नराम्रो भन्दा पनि हामी भित्रपनि राम्रा /नराम्रा पक्ष र प्रवृत्ति छन् त्यसमाथि बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन भंयकर पक्षपात छ । ठुलो समस्या छ । यसरी समस्या सबैतिर छ । त्यसैले हामी सबैको साझा उद्देश्य समस्या समाधान हो । मर्यादित र सफल व्यवसाय गर्ने, रोजगार सिर्जना गर्ने, आर्थिक रुपमा सम्पन्न, हिंसारहित, विभेद रहित समाजको निर्माण गर्ने नै तपाई हाम्रो प्रयास हो । यसमा अझै धेरै भूमिका राज्यको हुन्छ । हामीलाई शिक्षित बनाउने र चेतना निर्माण गरिदिने काम पनि राज्यको हो । हामी जस्तो समाजमा बस्छौं त्यस्तै चेतना बन्छ । त्यस्तै दृष्टिकोण बन्छ । सिर्जना त्यस्तै बन्छन् । त्यसैले यो देशकै समस्या हो ।

खैर, मेरो सृजनाले प्रत्यक्ष/अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महशुस भएको छ सबैसँग क्षमा चाहन्छु । मलाई कसैलाई होच्याएर, आफू अग्लिनु छदैछैन, कसैलाई असफल बनाएर आफु सफल हुनु छँदै छैन । समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुँदै होइन । म पनि यहि समाज र परिवेशको उत्पादन हुँ । मेरो चेतना पनि यहीँ निर्माण भएको हो। त्यसैले कमजोरी छैन भन्दिन । छ । तर सकिनसकि/जानिनजानी गर्न खोजेको चाहिँ समाजका अँध्यारा कथाहरु देखाएर उज्यालो तिर लाग्न प्रेरित गर्ने भन्ने हो । रात्रीकालीन मनोरन्जन व्यवसाय मात्रै होइन देशका सबै क्षेत्रलाई, सबै अंगलाई मर्यादित बनाउन , सफल र समृद्ध बनाउन तपाईँ हामी सबैको भूमिका उत्तिकै महत्वपुर्ण छ ।

बाँकी, म फर्किएपछि दोहोरी साँझमा बसेर समीक्षा गरौंला, मुड चल्यो भने एउटा दोहोरी पनि सुनाउँला म.. कुनै मिठो भाका छान्दै गर्नुहोला । धन्यवाद !
प्रकाश सपुत
अमेरिकाबाट