रुसी लडाकु विमानले आफ्नै शहरमा बम खसालेपछि…



रुसी रक्षा मन्त्रालयले रुसी लडाकु विमानले दुर्घटनावश युक्रेनसँगको सीमा नजिकै बियेलग्रटमा बम खसालेको जनाएको छ । क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्ल्याडकोभले उक्त विस्फोटनले शहरको केन्द्रमा ६० फिट गहिरो खाडल बनाएको बताए । उनका अनुसार घटनामा दुई जना महिला घाइते भएका छन् भने कैयौँ भवनहरूमा क्षति पुगेको छ ।

एउटा एसयू–३४ बम खसाल्नसक्ने लडाकु विमानले दुर्घटनावश विस्फोटक पदार्थ खसालेको भनिएको छ। कुन खालको अस्त्र खसेको भन्नेबारे उसले खुलाएको छैन । स्थानीय समय अनुसार रातिको १०ः१५ बजे उक्त घटना भएको रुसी समाचार संस्थाहरूले जनाएका छन् ।


त्यसबारे अनुसन्धान भइरहेको छ । बियेलग्रट युक्रेनी सीमा भन्दा २५ माइल वरै छ र त्यहाँ लगभग साढे ३ लाख मानिसहरूको बसोबास छ । अघिल्लो वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँका मानिसहरूमा युक्रेनी गोलाबारीमा परिने भय व्याप्त छ । युक्रेनतर्फ जाने क्रममा रुसी जेट पनि नियमित रूपमा त्यहाँको आकाशमा उड्ने गर्छन्।