पार्टीमा व्यक्तिवादी चरित्र हावी हुँदा अवसरवादीले मौका पाए : नेता कोइराला



दमौली । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अवसरवादी चरित्रका कारण पार्टी कमजोर हुने भएकाले सचेत रहनुपर्ने बताएका छन् । तनहुँको भानु नगरपािलका–२ नारेश्वरटारमा आज आयोजित तरुण युवाको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुने उल्लेख गरे ।

‘पार्टीमा व्यक्तिवादी चरित्र हावी हुँदा अवसरवादीले मौका पाइरहेका हुन्छन्, अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुन्छ, म त त्यस्ता व्यक्तिबाट सावधान भइसके’, नेता कोइरालाले भने, ‘तनहुँ क्षेत्र नम्बर १ का आम नागरिकलाई पनि अवसरवादीबाट सचेत रहन आग्रह गर्दछु ।’


तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले पदमा नहुँदा विकासमा उल्लेख्य काम गरेको नेता कोइरालाले जिकिर गरे । उनले कांग्रेसको नेतृत्वमा यो क्षेत्रको विकास हुने भएकाले ढुक्क हुन आम मतदातासँग आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसभित्र त्रुटी कमजोरी भए पनि कांग्रेस सुधार्न सङ्कल्प बोकेर आफूहरू लागि परेको बताए । कांग्रेसबाट अवसर लिएका भागेकाले देश बनाउन नसक्ने पौडेलको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले उपनिर्वाचनका सन्दर्भमा तनहुँका जनतालाई भ्रममा पार्न खोजिएको भन्दै भ्रममा नपर्न आग्रह गरे ।