काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । भाइरल ज्वरोका कारण आफू अस्वस्थ भएको अध्यक्ष ओलीले सामाजिक संजालमार्फत जानकारी दिएका हुन् । स्वास्थ्यमा समस्या आएकाले आफू अहिले निवासमै आराम गरिरहेको बताएका छन् ।
‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु,’ ओलीले लेखेका छन्, ‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उमेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरूमा सहभागी हुन सकिरहेको छैन ।’
स्वास्थ्यमा समस्या आएपछि वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुन नसकेको बताएका छन् ।
उनले भनेका छन्, ‘तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरु योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरुलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु ।’
स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा सबैलाई भेट्न आउने बताउँदै तीनैजना उम्मेदवाारहरुलाई विजयको शुभकामना दिएका छन् ।