पाँचथर । करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी स–साना पोखरी । सबैका आ–आफ्नै विशेषता र बनावट । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जङ्गल । थरिथरिका गुराँसले मन तानिरहने । बीच–बीचमा चौँरी र गाईको चरन रहेका हरिया फाँट । चौँरी र गाईका गोठबाट निस्कने धुँवा र घन्टीको आवाजको माधुर्यता पनि उस्तै । जताजता र जति घुमे पनि उत्तिकै आनन्द लागिरहने पोखरी, गुराँस, जङ्गल र चौरहरूको सङ्गम हो याङवरक गाउँपालिका–१ स्थित लामपोखरी सुकाधाप क्षेत्र ।
नेपाल–भारत सीमावर्ती क्षेत्रभन्दा करिब पाँच किलोमिटरमुनि रहेको यो क्षेत्र पर्यटकले भ्रमण नगरेको बताइएको छ । यहाँ लामपोखरी, सुकापोखरी, हिलेपोखरी, जलजले पोखरी, गुन्टेपोखरी र झ्याउपोखरी गरी छवटा पोखरी रहेका छन् । प्रशस्तै खोज र अनुसन्धान नभए पनि ३२ प्रकारका लालीगुराँस पाइएको बताइने यो क्षेत्र दुर्लभ वन्यजन्तु रातोहाब्रे (रेडपाण्डा) सहित भिरमौरी, चरीबाघ, कस्तुरी, मृगलगायतको बासस्थानका रूपमा परिचित छ ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्गको याङवरक गाउँपालिकास्थित च्याङथापू बजारबाट कच्ची सडक वा पैदलयात्राबाट पुग्न सकिने यो स्थान अहिले थरिथरिका गुराँस फुलेर निकै आकर्षक बनेको छ । कतिपयले गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रसँग तुलना गर्ने यो स्थान प्रचार–प्रसारको अभाव तथा पूर्वाधारको कमीका कारण पर्यटकको नजरमा पर्न सकेको छैन ।