मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन् । बुधबार ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उनले राजनीतिक अस्थिरता हटाउन बलियो राजनीतिक दल आवश्यक रहेको भनाइ व्यक्त गरे ।

उनले मुलुकमा आर्थिक सङ्कट उत्पन्न भएकाले सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । महासचिव पोखरेलले एमालेलाई संविधान मान्दैन भनेर व्याख्या गर्ने कोसिस भइरहेको बताए । “एमालेले संविधान मानेन भनेर व्याख्या गरिरहेका छन् । यो भन्दा मजाकको कुरा के हुनसक्छ”, उनले भने, “संविधान बदल्न नमिल्ने चिज पनि होइन ।”


उनले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न राजनीतिक ध्रुवीकरण अपरिहार्य रहेको बताए । “साना राजनीतिक दल अस्तित्वमा रहँदा जनमत विभाजन हुने र मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुनेगर्दछ”, उनले भने ।

कार्यक्रममा सुदर्शन मिश्र, शालिग्राम मिश्र, राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जनसहित ३९ जना एमालेमा प्रवेश गरेका थिए । उनीहरु सबैलाई महासचिव पोखरेलले टीका लगाइ एमालेमा प्रवेश गराएका छन् ।