बैतडी । बालुवाको ढिस्कोमा पुरिएर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
मङ्गलबार साँझ ७ बजेतिर धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिएकी राजमतीको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै बालुवाको ढिस्कोमा पुरिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ६२ वर्षीय सालिभानसिंह धामी र ४२ वर्षीय सङ्ग्रामसिंह धामी रहेका छन् ।
घाइते दुवैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक खत्रीको भनाइ छ । सँगै बालुवा खन्न गएका नरेन्द्र धामी र मनोज धामी भने सकुशल रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।