विराटनगरमा वैशाख १ गतेदेखि गुट्खा, खैनी र चुरोट निषेध



विराटनगर । विराटनगर  महानगरपालिकाले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । 

गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले बताएका छन् । उनका अनुसार ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको हो ।


 महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर संकलनलगायतका अभियान सञ्चालन गरिरहे छ । पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रमुख कोइरालाले जानकारी दिए । 

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा महानगर लागिरहेको छ ।