विद्युत् महसुल नबुझाउँदा जानकीको ‘हाई माक्स लाईट’ बल्न छाडे



बाँके । बाँकेको जानकी गाउँपालिका–६ को गनापुरस्थित नेपालगञ्ज–कोहलपुर सडकखण्डमा पर्ने पिपरहवा चोकमा अहिले बत्ती बल्दैनन् ।

विद्युत् महसुल नबुझाउँदा राति बल्नुपर्ने ‘हाई माक्स लाईट’ दिउँसो मात्रै देखिन थालेको दुई महिना नाघिसकेकोे छ । दिउँसो टाढैबाट देखिने ‘हाई माक्स लाईट’मा राति कुन गाडीले ठोकिदिने हो भन्न चिन्ता स्थानीयवासीमा छ । आठवटा बत्ती भएको लाईट दिउँसो हेर्नलाई मात्र जडान गरिए जस्तो भएको छ ।


विगत डेढ वर्षदेखि केही लाईट बल्ने र केही नबल्ने अवस्थामा रहेकामा दुई महिनादेखि सबै बत्ती बल्न छाडेको छ । स्थानीयवासी देवीराम यादवले भने,’सुरुसुरुमा त राम्रै बल्थ्यो तर पछिपछि विस्तारै एउटा एउटा गर्दै बत्ती निभ्न थाल्यो र अहिले त सबै बल्नै छाड्यो ।’

हाई माक्सका सबै बत्ती बल्न छाडेपछि विगत दुई महिनादेखि गाडीको आवाज सुनेर अँध्यारो सडक वारपार गर्न बाध्यभएको अर्का स्थानीयवासी चेतन गोडरियाले बताए । औद्योगिक कलकारखाना धेरै भएको उक्त वडामा ‘हाई माक्स लाईट’ ले दिएको उज्यालोले खुसी भएका स्थानीयवासी अहिले अँध्यारोमा हिँड्नुपर्दा दुःखी भएका छन् । उक्त लाईट बिग्रदा राति सवारी दुर्घटना हुनसक्ने सम्भावना रहेको गनापुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेश्वर गोसाईंले बताए ।

‘पहिला बत्ती हुँदा हामीलाई निकै सजिलो थियो । टाढाटाढासम्म सबै देखिन्थ्यो तर अहिले पूरै सडक साँझैदेखि अँध्यारो हुने गरेको छ’, उनले भने,’यो औद्योगिक क्षेत्र भएकाले राति डियुटी सकेर घर फर्कने कामदारलाई बाटो काट्न निकै कठिन छ ।’ अपराधका घटना अँध्यारोमा धेरै हुने भएकाले ‘हाई माक्स लाईट’ बाल्न आफूले वडालाई दबाब दिएको पनि प्रहरी नायब निरीक्षक गोसाइँले बताए ।

उक्त गाउँपालिकाको गनापुर, बेलहरी र जोग गाउँ गरी तीन ठाउँमा ‘हाई माक्स लाईट’ छन् । गनापुर, बेलहरी, ईन्द्रपुर र साइगाउँमा भने सातवटा सोलार बत्ती रहेका छन् ।