म्याग्दीमा चैतमै निख्रियो लालीगुराँस



म्याग्दी । समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटरको उचाइमा छ म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा ।चारैतिर घना जङ्गलको बीचमा रहेको विशाल चट्टान बेलढुङ्गामा उक्लिएर नजर लगाउँदा राताम्यै फुलेका लालीगुराँस देखिनुपर्ने हो यतिबेला ।

यो वर्ष चैतको अन्तिम साताको आइतबार बेलढुङ्गा पुग्दा राताम्यै लालीगुराँस होइन ओइलिएर झर्न लागेका फूल र हरिया पातमात्र देखे त्यहाँ पुगेका आन्तरिक पर्यटकले । लालीगुराँस फुल्ने समय वसन्त ऋतु अर्थात् चैत–वैशाख हो लालीगुराँस फुलेर राताम्यै देखिनुपर्ने यहाँका वन जङ्लमा यतिबेला लालीगुराँस कमै मात्र देख्न पाइन्छ । चैत वैशाखमा फुल्ने लालीगुराँस पुस अन्तिम सातादेखि नै फुलेपछि फुल्नुपर्ने समयमा ओइलिएर झरेका छन् ।


त्यस्तै काफल, ऐँसेलु, तिजु, वनमान्द्रोलगायत जङ्गली फलफूल र कन्दमूल पनि बेमौसममै फलेकाले फल लाग्नुपर्ने समयमा निख्रिसकेका छन् । फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस पुसमा नै फुल्नु र फुल्नुपर्ने समयमा निख्रनु वातावरणीय दृष्टिकोणले राम्रो सङ्केत नभएको म्याग्दीस्थित धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए ।

विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको उनको भनाइ थियो । आइतबार लालीगुराँस र हिमालको दृश्यावलोकनका लागि बेलढुङ्गामा पुग्नुभएका अध्यक्ष बानियाँसहित आन्तरिक पर्यटक लालीगुराँसकै जङ्गलमा पुगेर पनि गुराँस फुलेको देख्न नपाउँदा खिन्न हुँदै फर्केका थिए ।

सधैँजसो फागुन महिनाको तेस्रो सातातिरै फूल्ने लालीगुराँस यसवर्ष पुस दोस्रो सातादेखि नै फुलेकाले चैतमै निख्रिसकेको स्थानीयवासीले बताए । विगतमा लालीगुराँस फुलेपछि चैत–वैशाखमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दथ्यो ।

लालीगुराँस चैत–वैशाख महिनामा फूल्ने गर्दथ्यो तर केहीवर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेकाले फुल्नुपर्ने समयमा निख्रन पुगेको स्थानीयवासी डिलबहादुर सापकोटाले बताए । लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको, जङ्गली फलफूल, कन्दमूल र अन्नबालीमा समेत यसको असर देखिएको भकिम्ली निवासी क्या.जसबहादुर पुनको भनाइ थियो ।

‘यस वर्ष पुस अन्तिम सातादेखि नै गुराँस फुल्न र काफल पाक्न सुरु गर्यो’ वन तथा वातावरणका अध्येता बैकुण्ठ रेग्मीले भने ‘चैत–वैशाखमा फुल्नुपर्ने गुराँस पुस माघमै फुल्नु र चैत सकिनै लाग्दासमेत उच्च हिमाली र लेकाली क्षेत्रहरुमा हिउँ नपर्नु, कन्दमूल तथा जङ्गली फलफूल नासिँदै जानु, बाली पाक्ने समयमा परिवर्तन देखिनु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् ।’ उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामासमेत धेरै परिवर्तन देखिएका छन् ।

त्यसैगरी गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू–भागमा पनि पाइन थालेका छन् । समयको अन्तरालमा पृथ्वीको वायुमण्डल, हावाको गति र मौसममा भएको परिवर्तनका कारण पृथ्वी तथा यसको कुनै भागको औसत मौसममा आएको परिवर्तनलाई नै जलवायु परिवर्तन भनिन्छ ।