हेम्जामा ‘आलु महोत्सव’



पोखरा । एघारौँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आज आइतबार सुरु हुँदैछ । पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना हुने यो महोत्सव कोभिड–१९ महामारीका कारण तीन वर्ष रोकिएको थियो । महोत्सवलाई यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको हो । महोत्सव आउँदो वैशाख ३ गतेसम्म चल्नेछ ।

व्यावसायिक कृषिको प्रवद्र्धनका साथै हेम्जालाई कृषि–पर्यटनको ‘हब’का रुपमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको ह‍ो। आलुलगायत ताजा तरकारीको बहृत् प्रदर्शनी, आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकीलगायत महोत्सवका आकर्षण रहनेछन् । किसानलाई लक्षित गरी माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषि उपज, बिउविजन, कृषियन्त्र, उपकरण आदिको प्रर्दशनी, कृषिसम्बन्धी सांस्कृतिक प्रस्तुती, कृषक सम्मानलगायतका कार्यक्रम पनि राखिएको छ ।


महोत्सव अवलोकनमा जाने सर्वसाधारणलाई आलुलगायत कृषि उपज किनमेलका लागि छुट्टै बिक्रीकक्ष निर्माण गरिने आयोजकहरुले जनाएका छन् । मेलामा कृषिका तीस वटा व्यावसायिक ‘स्टल’ रहनेछन् । अन्य व्यापारिक ‘स्टल’ ८० वटा रहने छन। कलाकारहरुको साङ्गीतिक प्रस्तुती, रमाइलो मेला, बाल उद्यान आदिले पनि मेलामा आकर्षण थप्नेछ । पोखरा महानगरपालिकाको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले हेम्जा आलुका लागि उर्बर ठाउँ भएको बताए । उनले आलु महोत्सवले व्यावसायिक कृषिको महत्व अझै बढाएको उल्लेख गर्नुभयो । महोत्सवलाई किसानको हितसँग जोड्नुपर्ने प्रमुख कडरियाले बताए ।

महानगरको कृषि शाखाका अनुसार हेम्जामा झण्डै तीन सय हेक्टरमा आलु खेती हुँदै आएको छ । किसानले वार्षिक दस करोड बराबरको आलु उत्पादन गर्दै आएका छन् । महोत्सवले व्यावसायिक आलु खेतीतिर किसानलाई आकर्षित गरेपनि उब्जाउ जग्गा भने घट्दै गएको छ । केही वर्षअघिसम्म ४ सय ५० हेक्टरमा आलु खेती हुँदै आएको थियो । घरघडेरीका नाममा खेतीयोग्य जमिन नासिँने क्रम बढ्दो छ ।

गुणस्तरीय बिउ, मलको अभाव, हावापानीमा आउने परिवर्तनजस्ता कारणले पनि आलुको उत्पादकत्व घट्ने गरेको कृषि विज्ञहरू बताउँछन् । हेम्जामा ‘एम.एस.–४२’, खुमल लक्ष्मी, जनकदेवलगायत जातिका आलु लगाईन्छ । हेम्जाका १ हजार २० घरपरिवार कृषिमा आधारित छन् भने ५ सय ४० किसान व्यावसायिक आलु खेतीमा संम्लग्न छन् ।