थाइल्याण्डमा गोलीकाण्ड : चारजनाको मृत्यु



थाइल्याण्ड । थाइल्याण्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो ।

‘सशस्त्र आक्रमणबाट चार जनाको मृत्यु भएको छ,’ स्थानीय प्रहरी प्रमुख क्रिआङक्राई क्राइकाउले एएफपीसँग भने । स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका एक पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो । थाइल्याण्डमा बन्दुकको स्वामित्वको उच्च दर छ र विगत १२ महिनामा हिंसात्मक घटनाहरू निरन्तर भइरहेका छन् ।


यो अवधिमा हालैका केही दशकभित्र भउका सबैभन्दा घातक आक्रमणहरूमध्ये एक पनि समावेश छ । गत अक्टोबरमा उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तमा एक पूर्व प्रहरी हवल्दारले ३६ जनाको हत्या गरेका थिए, जसमध्ये २४ जना बालबालिका थिए । गत महिना फेचबुरी प्रान्तमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए ।