आईसीआरसीको अनुरोधमा यमनका कैदीको आदानप्रदान तीन दिनका लागि स्थगित



यमनमा द्वन्द्वकालीन ८८७ जना कैदीबन्दीको अप्रिल ११ का लागि तय गरिएको आदानप्रदान तीन दिनका लागि स्थगन गरिएको छ । सरकारी वार्ता टोलीका सदस्य माजिद फडेलले भने, ‘ठूलो सङ्ख्यामा कैदीबन्दी अदलीवदली हुने भएकाले अझै केही व्यवस्था गर्न बाँकी नै छ । त्यसैले रेडक्रसले थप तीन दिन समय मागेको छ ।’

यसैबीच हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले हुथी बन्दी समितिका प्रमुख अब्दुलकादिर अल मुर्तदालाई उदृत गर्दै आफ्नो समूहलाई पनि आईसीआरसीले ढिलाइबारे जानकारी गराएको जनाएको छ ।


यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गको सहजीकरणमा गत मार्च २० मा यमनका युद्धरत पक्षबीच स्विट्जरल्याण्डमा भएको १० दिनको वार्तापछि कैदीको आदानप्रदानको सम्झौता भएको थियो ।

सम्झौताअनुसार अप्रिल ११ देखि १३ को बीचमा तय गरिएको उडानमार्फत रिहा गरिएका बन्दीहरूलाई ओसारपसार गर्ने जिम्मेवारी आईसीआरसीको रहेको छ ।

सन् २०१४ को अन्त्यतिर इरान समर्थित हुथी लडाकूसमूहले उत्तरी सहरहरू आफ्नो नियन्त्रणमा लिएपछि सुरु भएको यमनमा वर्षौंदेखि चलेको द्वन्द्वपछि कैदी आदानप्रदान सम्झौतालाई महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ ।

यस युद्धका कारण दशौं हजार मानिस हताहत भएका छन् भने हजारौंलाई थुनामा राखिएको छ भने झण्डै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित बनेको छ ।