रवि लामिछानेविरुद्ध परेका ३ उजुरी खारेज, उम्मेदवारी कायम



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।

लामिछानेले पुरानै मतदाता नामावलीको आधारमा मनोनयन दर्ता गरेको भन्दै चितवन-२ उपनिर्वाचनका स्वतन्त्र उम्मेदवार सन्तोष पौडेल, स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिबबहादुर सुवेदी र राष्ट्रिय जनर्मोचाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर गिरीले मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी दिएका थिए ।


उजुरी खारेजीसँगै रास्वपा सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।

‘कागजपत्र र अन्य प्रावधान हेर्दा उम्मेदवारी बदर गर्नु पर्ने अर्थात् उम्मेदवार हुन अयोग्य हुने आधार/अवस्था भेटिएन । उहाँको उम्मेदवारी कायम राख्ने निर्णय भएको छ,’ चितवन-२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले भने ।

विदेशी नागरिकता त्यागेको ९० दिनपछि मात्रै चुनावमा उठ्न पाउने संवैधानिक आधार छ भन्दै लामिछानेविरूद्ध उजुरी दर्ता भएको थियो । लामिछानेका विरूद्ध काठमाडौंका युवराज पौडेलले पनि ईमेलमार्फत उजुरी दिएका छन् । त्यस्तो उजुरी सम्बन्धित उम्मेदवारसँग स्पष्टीकरण लिएर निर्णयका लागि कागजपत्र निर्वाचन आयोग पठाउने आचार्यले बताए । बुधबार नै कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको छ । सात दिनभित्र स्पष्टीकरण बुझाउनु पर्नेछ ।