दमौली । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका गोविन्द भट्टराईको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
सोमबार तनहुँ क्षेत्र नम्बर एकको कांग्रेस सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णीम वाग्ले र नेकपा एमालेका सर्वेन्द्र खनाललाई टुरिस्ट उम्मेदवारको संज्ञा दिँदै मतदाताले सबक सिकाउनुपर्ने बताएका हुन् ।
विदेशमा पढेका वा काम गरेर फर्केकाहरु मात्रै योग्य हुने भाष्य निर्माण हुन लागेको भन्दै महामन्त्री थापाले त्यो परीक्षाको घडी पनि यही चुनाव भएको बताए ।
उनले भने, ‘यहाँ घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ– तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन। यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँडने ।’
उनले सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराएर पठाउन आग्रह गरे । महामन्त्री थापाले तनहुँको माटोले चिनेको र तनहुँलाई चिनेको उम्मेदवार भट्टराई भएकोले उनलाई जिताएर संसदमा पठाउन आग्रह गरेका हुन् । उनले पाँचवर्षका लागि कांग्रेसलाई जिताएर पठाउन पनि आग्रह गरे ।
कांग्रेसले परिणाम दिने गरी काम गरेन भने अर्को चुनावमा मतदाताले दण्ड दिन सक्ने बताए। अवसर नपाउनेहरु कांग्रेसमा तमाम रहे पनि यहिँभित्र संघर्ष गरिरहेको बताए। आफूले आफ्नै ससुरासँग महामन्त्रीमा र आफ्नो पिता भन्दा तीन वर्ष जेठो पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलमा प्रतिस्पर्धा गरेको उल्लेख गरे ।