काठमाडौँ । दाँतको उपचारका लागि पारोको प्रयोग उल्लेख्यमात्रामा घटेको छ । नेपालमा मर्करीमुक्त (पारोमुक्त) दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त स्वास्थ्य सेवा अध्ययनको प्रतिवेदनले दन्त चिकित्सा र अस्पतालमा पारोको प्रयोग घटेको उल्लेख गरेको छ ।
अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आज यहाँ गैरसरकारी संस्था स्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका निर्देशक रामचरित्र साहले दन्त चिकित्समा पारो अमलमको प्रयोग उल्लेखमात्रामा घटेको जानकारी दिए। उनले प्रयोग घट्नु सकारात्मक भए पनि छ दशमलव ३८ प्रतिशत दन्त चिकित्सा स्वास्थ्य संस्थाले अझै पनि पारोको प्रयोग गर्ने गरेको बताए ।
उनले भने, “९३ दशमलव ६२ प्रतिशतले पारोको प्रयोग गर्ने गरेका छैनन्, जुन निकै सकारात्मक परिणाम हो । तर बाँकी छ दशमलव ३८ प्रतिशतले क्यापुलका रुपमा पारोको प्रयोग गर्दै आएको देखियो ।” सात प्रदेशका विभिन्न ४२ आधारभूत स्वास्थ्य संस्था र ४७ दन्त चिकित्सा स्वास्थ्य संस्थामा अध्ययन गरिएको थियो । अध्ययनमा लुम्बिनी प्रदेशको एक निजी दन्त चिकित्सा क्लिनिक, मधेस प्रदेशको एक निजी अस्पताल र गण्डकी प्रदेशको एक दन्त चिकित्सा क्लिनिकमा पारो अमलजम प्रयोग गर्ने गरेको देखिएको हो ।
कार्यक्रम स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले पारोमुक्त स्वास्थ्य सेवा र दन्त चिकित्सालाई सय प्रतिशत पु¥याउनुपर्नेमा जोड दिए । उनले भने, “पारोको प्रयोगले वातावरण मात्र हैन जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्छ । स्वास्थ्य क्षेत्रमा यसको प्रयोगमुक्त एक सय प्रतिशतसम्म नपु¥याउन आवश्यक छ ।”
स्वास्थ्य समन्वय महाशाखा प्रमुख यशोधा अर्यालले घरघर र स्वास्थ्य संस्थामा रहेका पारोयुक्त उपकरणको सङ्कलन र व्यवस्थापन गर्न सरोकारवालाको ध्यानार्कषण गराए। उनले मिनामाता महासन्धिलाई अनुमोदन गर्ने तयारीमा सरोकारवाला निकाय लागिपरेको जानकारीसमेत दिए ।
विश्वस्वास्थ्य सङ्गठनका प्रतिनिधि राजाराम पौडेलले पारोसम्बन्धी मन्त्रालयको निर्णय पूर्ण कार्यान्वयनका लागि सचेतना अभिवृद्धि गनुपर्ने सुझाव दिए । यस्तै ललितपुर महानगरपालिकाका वातावरण इञ्जिनियर प्रदीप अमात्यले महानगरको वडा ६ र १६ मा मूर्ति बनाउन पारोको प्रयोग हुने भन्दै पारोको घरेलु प्रयोगबारे अध्ययन हुनुपर्ने बताए । कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष मोहन कटुवालले जनस्वास्थ्य र वातावरणलाई असर गर्ने पारोको प्रयोगलाई विस्थापन गर्दै लगेको बताए ।
सहभागीले दन्त चिकित्साको पाठ्यक्रममा पारोको प्रयोगसम्बन्धी परिमार्जन गर्न आवश्यक रहेको बताएका थिए । प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न मेडिकल कलेज र अस्पतालले पाठ्यक्रमअनुसार विद्यार्थीले पारोको प्रयोग गर्दै आएका छन् । दन्त सप्लार्यसले अझै पनि दन्त चिकित्साका लागि पारोको तरल, क्यापसुल र धातु मिश्रको बेचबिखन गर्दै आएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पारोसम्बन्धी निर्णयबारे जानकार नहुने २६ दशमलव दुई प्रतिशत रहेको अध्ययनमा उल्लेख छ । झण्डै ९३ प्रतिशत स्वास्थ्य संस्थाले पारो (मर्करी) मुक्त थर्मोमिटरको प्रयोग गर्ने गरेको छ । कुनै पनि स्वास्थ्य संस्थाले पारोयुक्त स्पोगेमोमानोमिटरको प्रयोग नगर्ने गरेको देखिएको हो ।
केन्द्रले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालय मातहतका मेडिकल कलेज र अस्पतालमा पारो प्रयोगमुक्त बनाउन सुझाव दिएको छ । केन्द्रका निर्देशक साहले विभिन्न स्वास्थ्य संस्था र विश्वविद्यालयमा भएका पारोयुक्त उपकरणलाई सबै ठाउँबाट सङ्कलन गरी मापदण्डअनुसार व्यवस्थापन गर्न सुझाव दिएको छ ।
वन तथा वातावरण मन्त्रालयको सन् २०१९ को अध्ययनअनुसार स्वास्थ्य क्षेत्रबाट मात्रै वार्षिक दुई हजार पाँच सय ९० किलोग्राम मर्करी वातावरणमा निष्काशित हुने गरेको देखाएको थियो । उक्त अध्ययनअनुसार देशभर वार्षिक १९ हजार छ सय १५ किलोग्राम मर्करी वातावरणमा फोहरका रुपमा निष्काशित हुने गरेको थियो । दन्त चिकित्सामा दाँत भर्नका लागि मर्करी अमलगमको अत्यधिक प्रयोग हुने गर्दथ्यो ।
पारोको प्रयोगले नसा, पाँचन, रोग प्रतिरोधात्मक प्रणाली, फोक्सो, मिर्गौला, छाला र आँखामा गम्भीर असर गर्ने विभिन्न अध्ययनले देखाएको छ । एक दशकअघिसम्म औषधि र स्वास्थ्य उपकरणमा प्रयोग गरिँदै आएको मर्करी पछिल्लो अध्ययनले हानिकारक हुने देखाएपछि यसको प्रयोगलाई निरुत्साहित गरिँदै आइएको छ ।
स्वास्थ्य मन्त्रालयले १० वर्षअघि पारोयुक्त (मर्करी) उपकरणको आयात बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रालयले गर्भवती तथा स्तनपान गराइरहेका तथा १५ वर्षमुनिका बालबालिकामा पारो प्रतिबन्ध लगाएको छ । अन्य उमेरको हकमासमेत विकल्प भएसम्म पारोको प्रयोग नगर्न भनिएको छ ।