काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारहरुको सभ्यता, संस्कृति र इतिहासको विकास तथा सम्वद्र्धन गर्न अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
छैटौँ विश्व नेवा दिवसका अवसरमा वल्र्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो अनुसन्धान प्रतिष्ठान नेवारको मात्र नभई सम्पूर्ण नेपालीको हुने बताएका छन् ।
उनले नेपाल भाषा, नेवारी साहित्य र कलाको विकासका निम्ति नेवारले गरेको अनवरत सङ्घर्षप्रति आफ्नो उच्च सम्मान रहेको बताए । ‘शान्ति प्रक्रियामा आएपछिको पहिलो कार्यक्रम यही वसन्तपुर डबली भएको थियो । पहिलो चोटी प्रधानमन्त्री भएपछि नेपाल संवत् लाई राष्ट्रिय संवत् को मान्यता दिलाउनका लागि मैले पहल गरेको हुँ’, उनले भने, ‘नेपाल सरकारका तर्फबाट नेपाल संवत् लाई राष्ट्रिय संवत् घोषणा गरेको यही डबलीबाट हो ।’
राष्ट्र निर्माणमा नेवार समुदायको मुख्य र ऐतिहासिक भूमिका रहेको जनाउँदै उनले नेपाललाई स्वाधीन राष्ट्रका रूपमा विश्वसामु चिनाउन नेवार समुदायको भूमिका महत्वपूर्ण रहेको बताए । नेवार पुर्खाले विरासतमा हामीलाई छाडेर गएका मन्दिर, पाटी, पौवा, डबली, हिटी, देवालयलगायतका सम्पदाको योगदान महत्वपूर्ण रहेको उनको भनाइ छ ।
‘विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदायमध्ये नेवार समुदाय पनि हो । आज हामीले विश्व नेवार दिवस मनाइरहँदा ती नेवार अग्रजप्रति सम्मान व्यक्त गर्नैपर्छ’, उनले भने ।
एक फरक प्रसङ्गमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले गरिब, विपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताए । उनले गरिब र उत्पीडित वर्गले आफ्नो असल प्रतिनिधि चिन्न सक्नुपर्ने बताए ।
‘नेपाल जनताको त्याग र बलिदानको बलमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था गरिएको छ । यद्यपि, वर्तमान संविधान पनि हामीले अपेक्षा गरेजस्तै पूर्ण भने छैन’, उनले भने ।
नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न आफू र माओवादी केन्द्रले मुख्य सङ्घर्ष गरेको भन्दै उनले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधि को हो भन्ने चिन्न जरूरी रहेको भनाइ व्यक्त गरे ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आगामी दिनमा समग्ररुपमा नेपाली समाजको रुपान्तरणका निम्ति नेपालको भाषा संस्कृति तथा नेपाल भाषा र संस्कृतिको विकासका निम्ति अझ महत्वपूर्ण योगदान पुर्याउन सबैमा आग्रह गरे ।
उनले नेवार समुदायबाट विकसित भएर राष्ट्र र नेपाल भाषा, संस्कृतिको विकासमा योगदान गर्ने सम्मानित व्यक्तित्वप्रति बधाई ज्ञापन गरे ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाललाई चिनाउने महत्वपूर्ण चिनारी नेवा भाषा, संस्कृति र कला भएको बताए । नेवारी सभ्यतालाई इतिहासमा मात्र सीमित नराखी नेवारी भाषा संस्कृतिलाई अगाडि बढाउन उनले आग्रह गरे । नेवारी संस्कृतिको प्रवद्र्धनले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गर्ने उनको भनाइ छ ।
कार्यक्रमा नेवारी कला, संस्कृति, भाषाको संरक्षणमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले जनकवि दुर्गालाल श्रेष्ठ, इतिहासविद् त्रिरत्न मानन्धर, पूर्वराजदूत केदारभक्त माथेमा, पर्यटन व्यवसायी कर्ण शाक्य, उद्योगी रुपज्योति कंसाकार र वरिष्ठ पत्रकार नातिकाजी महर्जनलगायतलाई सम्मान गरेका थिए ।