चालक अनुमतिपत्र कार्ड ल्याइँदै



१५ कात्तिक । सरकारले डेढ वर्ष पहिले गरेको ठेक्का सम्झौताअनुसार चालक अनुमतिपत्र छपाइका लागि कार्ड यही कात्तिक महिनाभित्र आउने भएको छ ।

प्राविधिक समस्याका कारण लामो समयदेखि कार्ड ल्याउन नसकिएको भए पनि अहिले समाधान भएकाले ल्याउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । सरकारले दुई वर्ष पहिले खरिद गरेको ‘मास प्रिन्टर’ मा छपाइ गर्न कार्ड नमिलेपछि कार्ड आउन सकेको थिएन । पछिल्लो पटक परीक्षणमा समस्या नभएको पाइएकाले ल्याउन लागिएको हो । उनले भने, “हामीले कार्ड छिटो ल्याउनका लागि कम्पनीसँग सम्पर्क भइरहेको छ ।”


‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्काे कम्पनीबाट खरिद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन भनिएको हो । चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख आउनुपर्ने विभागले जनाएको छ । विभागले चाँडो ल्याउन सहजीकरण गरिदिने भएको छ । अहिले १४ लाख कार्ड आएपछि तत्कालका लागि समस्या हट्ने र आगामी दिनमा पनि त्यही समस्या दोहोरिन नदिन ध्यान दिइने विभागले जनाएको छ । सेवाग्राहीलाई सजिलोका लागि सुरू गरिएको ‘स्मार्ट’ चालक अनुमतिपत्र सोचेजस्तो हुन सकिरहेको छैन । विभिन्न समस्याका कारण सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका छैनन् ।

पहिले उपकरणको क्षमता कम भएकाले सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका थिएनन् । दुई वर्ष पहिले विभागले एउटै ठेक्काबाट ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) र १० लाख कार्ड ल्याइएको थियो । त्यो कार्ड अब थोरै सङ्ख्यामा मात्रै बाँकी छन् । कार्ड अभावमा विभागले अति आवश्यक पर्नेलाई मात्रै अनुमतिपत्र छापिरहेको छ । यातायात कार्यालयले भने एक वर्षका लागि अस्थायी चालक अनुमतिपत्र सुरू गरेका छन् ।