काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ८ महिनामा १० खर्ब रुपैयाँको आयात गर्दा जम्मा १ खर्बको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर पुगेको छ ।
भन्सार विभागका अनुसार चालु आवको ८ औं महिना (साउन–फागुन) पुरा हुँदा नेपालले साढे १० खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यस अवधिमा निर्यातको आंकडा समेत १ खर्ब नाघेको छ । यस वर्ष आयात १९.१३, निर्यात २९.०७ ले कमी आएको छ । आयातमा आएको गिरावटले व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १७.८६ प्रतिशतले कम भएको छ । समग्र वैदेशिक व्यापार २०.१४ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षको माघ महिनासम्म नेपालले १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख ३० हजार रुपैयाँको आयात गरेको छ भने १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख ९३ हजार रुपैयाँको निर्यात गरेको छ । जसमा सबैभन्दा बढी २ खर्ब २७ अर्ब ९करोड ४ लाख ४८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । दोस्रोमा १ खर्ब ४ अर्ब ८० करोड ९८ लाख ९ हजार रुपैयाँको फलाम आयात भएको छ ।