काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री दाहालले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई आज आफ्नो कार्यकक्षमा बोलाइ बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
साथै उनले आगामी कार्यकालमा अझै जनमुखी सेवा प्रवाह र शान्ति सुरक्षामा अब्बल भूमिका निभाउन निर्देशनसमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरुलाई आजै दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।
प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले एआईजीमा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका मध्यबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिए ।
उनले संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नु पर्ने भएकोले उक्त चुनौती र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताए ।