उपराष्ट्रपति निर्वाचन : मतदान सकियो, ८२९ मत खस्यो



काठमाडौँ । उपराष्ट्रपति निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरे ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको मतदानमा संघीय संसदतर्फका ३ सय ३२ र प्रदेशसभामाका ५ सय ५० सांसद मतदाता रहेका थिए ।


राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका १ सांसद मतदानमा सहभागी भएनन् । त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल, एमालेका लक्ष्मी महतो, कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन अनुपस्थित रहे ।

यसैबीच जसपाका सांसद सहनाज रहमानको मृत्यु भएको छ । संघीय संसद्‍ भवनको ल्होत्से हलमा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ सम्मका लागि मतदानको समय तोकिएको थियो । शुक्रबार साँझ नै मतगणना सम्पन्न गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।