तत्काल मदिराको विज्ञापन हटाउन निर्देशन



काठमाडौँ । विज्ञापन बोर्डले तत्काल सञ्चार माध्यमबाट मदिराको विज्ञापन हटाउन निर्देशन जारी गरेको छ । बोर्ड आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै विज्ञापनदाता, विज्ञापन एजेन्सी, छापा, विद्युतीय, डिजिटल माध्यमका साथै सामाजिक सञ्जालबाट समेत मादक पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न, नगराउन भनेको छ ।

मदिराका विज्ञापन तत्काल हटाउन विज्ञापनदाता, विज्ञापन एजेन्सीलाई बोर्डले अनुरोध गरेको छ । बोर्डको निर्देशन विपरीत कोही कसैवाट त्यस प्रकारको विज्ञापन प्रकाशन तथा प्रसारण भएको पाईएमा विज्ञापनदाता, विज्ञापन एजेन्सी तथा सञ्चारमाध्यमलाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा जनस्वास्थ्य सेवा ऐन, २०७५ का साथै प्रचलित कानून बमोजिम कारवाही गरिने बताइएको छ ।


‘विज्ञापन बोर्डको मिति २०७९ साल फागुन २६ गते वसेको बैठकले विज्ञापनदाता, विज्ञापन एजेन्सी, छापा, विद्युतीय, डिजिटल माध्यमका साथै सामाजिक सञ्जालबाट समेत मादक पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न, नगराउन निर्देशन जारी गर्ने निर्णय भएकोले कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराईन्छ,’– विज्ञप्तिमा भनिएको छ।