उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी कायम



काठमाडौँ । उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवारी दिएका कसैले पनि नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो ।

उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव तथा जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।