१८ दिनपछि बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित



११ कात्तिक । नेकपा एमालेको अवरोधका कारण प्रभावित हुँदै आएको प्रतिनिधिसभाको बिहीबारको बैठक १२ मिनेट बसेर सकिएको छ ।

२ बजे सुरु भएको बैठकमा अघिल्ला बैठकमा झै आज पनि सुरुमै एमालेले अवरोध र नाराबाजी गरेको हो । उनीहरुले गैर सांसदलाई संसदमा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाए । 


एमालेको अवरोधकाबीच सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा  आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा राष्ट्रपति स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए । 

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए । 

सभामुख सापकोटाले कार्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् । 

आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई सभामुख सापकोटाले जोगाएको भन्दै एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनको १३ वटा बैठक अवरुद्ध गरिसकेको छ ।