प्रचण्डविरुद्धकाे मुद्दामा सर्वोच्चको अग्राधिकार, १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश



काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै परेको रिटमा शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । साथै मुद्दालाई अग्राधिकार समेत दिइएको छ ।


बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

मुद्दाको टुंगो अन्तिम सुनुवाइपछि लाग्ने भन्दै तत्काल अन्तरिम आदेश भने दिनुनपर्ने ठहर सर्वोच्चले गरेको छ । द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिने भनी २०७६ माघ १ गते टुँडिखेलमा दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतले रिट दायर गरेका छन् ।

शुरूमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको रिट न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयाँलको आदेशबमोजिम दर्ता भएको हो ।