एमाले अधिवेशन : बैतडीका चार पालिकामा अधिवेशन सम्पन्न



१० कात्तिक । नेकपा (एमाले)को १०औँ महाधिवेशनअन्तर्गत जिल्लाका चार वडामा वडा तहको अधिवेशन सम्पन्न भएको छ ।

जिल्लामा ८४ वडा रहेकामा बैतडीमा सोमबारदेखि अधिवेशन सुरु भएको हो । अहिलेसम्म जिल्लाका चार वडामा अधिवेशन सम्पन्न भएको एमाले बैतडी सचिव तथा प्रदेशसभा सदस्य लीलाधर भट्टले जानकारी दिए । सचिव भट्टका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिका–२, ३, ४ र ८ मा अधिवेशन सम्पन्न भएको हो । २ मा उमापति भट्ट, ३ मा करनराम भुल, ४ मा तर्कराज भट्ट र ८ मा डम्बर विष्ट वडाध्यक्षमा चयन भएका हुन् ।


कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकाले प्रदेश कमिटीले वडा र पालिका अधिवेशनको कार्यतालिका सारेकाले अधिवेशन केही ढिला हुन गएको जनाइएको छ । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ८४ वडा छन् । कात्तिक १२ गतेसम्म सबै वडा अधिवेशन सक्ने गरी कार्यतालिका बनाइएको र सोहीअनुसार अधिवेशन भइरहेको जनाइएको छ ।

यसैबीच यही कात्तिक १५ गते जिल्लाका सबै स्थानीय तहका हुने पालिका अधिवेशनका लागि उत्प्रेरक तथा सहजकर्ता छनोट गरिएको छ । शिवनाथ गाउँपालिका र मेलाली नगरपालिकामा जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लीलाधर भट्ट, पञ्चेश्वर गाउँपालिकामा केन्द्रीय सदस्य पुरन सिंह दयाल, पाटन नगरपालिकामा प्रदेश कमिटी सदस्य मोहन थापा, सुर्नया गाउँपालिकामा प्रदेश कमिटी सदस्य नरेश विक, दशरथचन्द नगरपालिकामा प्रदेश कमिटी सदस्य पुष्करराज जोशीलाई उत्प्रेरक तोकिएको छ ।

यस्तै दोगडाकेदारमा जिल्ला उपसचिव चक्र कार्की, डिलाशैनीमा जिल्ला अध्यक्ष सुरेन्द्र पाल, पुर्चौडीमा सांसद दामोदर भण्डारी र सिगासमा जिल्ला कमिटी सचिवालय सदस्य रमिल बमलाई उत्प्रेरकका रूपमा खटाइएको सचिव भट्टले जानकारी दिए । एमालेको दसौँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुँदैछ ।