अमेरिकीहरुका लागि मेक्सिको उपचार गन्तब्य बन्दै



कम खर्चमा औषधोपचार गर्न अमेरिकीहरू छिमेकी देश मेक्सिको गइरहन्छन्। तर मेक्सिको गएर खर्च जोगाउने उपाय कहिलेकाहीँ निकै जोखिमपूर्ण पनि बन्न सक्छ ।

कस्मेटिक शल्यक्रियाका लागि मेक्सिको गएका चार अमेरिकी नागरिकहरू गत सप्ताहान्तमा तमोलिपासस्थित माटामोरोसमा अपहरणमा परेको तिनका आफन्तले बताएका छन्।


तीमध्ये दुई जनाको हत्या भएको पुष्टि भइसकेको छ भने बाँकी दुई जना बाँच्न सफल भएका छन् । जीवित दुई जना अहिले अमेरिका पुगिसकेको मेक्सिको र अमेरिकाका अधिकारीहरूले बताएका छन् ।

सीमावर्ती सहर माटामोरोस मेक्सिकोमा निकै खतरा भएका स्थानहरूमध्ये पर्छ। तमोलिपास राज्यको ठूलो क्षेत्र लागुऔषध तस्करहरूले नियन्त्रणमा छ। कतिपय अवस्थामा उनीहरू स्थानीय प्रशासनभन्दा बढी शक्तिशाली हुन्छन् ।

तर तिनै सहरहरू अमेरिकामा उपचार खर्च धान्न नसक्ने दशौँ हजार मानिसका लागि ’चिकित्सा पर्यटन’का निम्ति राम्रो गन्तव्य पनि हुन् । यो क्षेत्रबारे जानकारी भएका सेवाग्राहीहरूले आवश्यक सावधानी अवलम्बन गर्न जानेका हुन्छन् ।

उनीहरू मेक्सिको प्रवेश गर्नासाथ आफ्नो गाडीमा स्थानीय नम्बर प्लेट प्रयोग गर्छन्। यस्तो उपायले अपहरणकारीको निसानामा पर्ने जोखिम कम हुन्छ । उनीहरू ती स्थानमा सकेसम्म कतै पनि पैदल जाँदैनन्।

सस्तो उपचार खर्च र नजिकै पर्ने भएकाले मेक्सिको अमेरिकी नागरिकहरूका लागि प्रमुख स्वास्थ्योपचार गन्तव्य बनेको छ । टेक्सस विश्वविद्यालयस्थित समाजशास्त्रका प्राध्यापक तथा आप्रवासनविज्ञ नेस्टर रोड्रिगेजले मेक्सिकोमा विशेषतः दाँतको उपचार र सेवा सस्तो रहेको बताए । अमेरिकामा हुने खर्चको एउटा अंशले त्यहाँ दाँत सफा गर्न र प्रत्यारोपण गर्न पाइन्छ ।

उनका अनुसार सेवाको स्तर पनि प्रायः अमेरिकामा पाइने जस्तै छ। तर अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम हेर्ने निकाय (सीडीसी) ले भने मेक्सिकोमा लिइने चिकित्सासेवाबाट सङ्क्रमण सर्न सक्ने भन्दै सजग गराएको छ ।

प्रतिवर्ष १० लाख अमेरिकीहरू उपचारका लागि मेक्सिको जाने गरेको मेक्सिकोस्थित मेडिकल टूरिजम इन्डस्ट्री काउन्सिलले जनाएको छ । धेरै सीमावर्ती सहरहरूमा यो सबैभन्दा तीव्र विस्तार भइरहेको उद्योग हो।