बंगलादेश भवन विष्फोटमा मृत्यु हुनेको संख्या १५ नाघ्यो



ढाका । बंगलादेशको ढाकास्थित एक व्यावसायिक भवनमा आज अपराह्न भएको शक्तिशाली विष्फोटमा परी मृत्यु हुनेको संख्या १५ नाघेको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।

ढाका मेडिकल कलेज शिक्षण अस्पतालका एक अधिकारीका अनुसार विष्फोटस्थलबाट १४ जनाको शव अस्पतालमा ल्याइएको छ । अस्पतालका निर्देशक ब्रिगेडियर जनरल मोहम्मद नजमुल हकले अस्पतालमा एक सयभन्दा बढी घाइतेको उपचार गरिएको तथा धेरैलाई सघन उपचार कक्षमा राखिएको बताएका छन् ।


घटनास्थलमा कम्तीमा ११ वटा दमकलले परिचालन भएका छन् । विष्फोटबाट पुरानो ढाकाको सिद्दिकी बजार क्षेत्रमा एउटा सात तले र अर्को पाँच तले दुईवटा भवनमा क्षति भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । विष्फोट सात तले भवनमा भएको हो । विष्फोटबाट नजिकैको भवनमा रहेको बैंकमा पनि क्षति भएको छ भने सडकको छेउमा रहेको यात्रुवाहक बसमा पनि क्षति भएको छ । विष्फोटको कारण खुलेको छैन ।

बेलाबेलामा बङ्गलादेशमा कारखानामा कामदार फस्नेलगायत औद्योगिक दुर्घटना भई रहन्छन् । प्रभावकारी सुरक्षा उपाय अवलम्बन नगर्दा यस्ता दुर्घटना हुने गरेको आरोप पीडित पक्षले लगाउँदै आएको छ । गत वर्ष देशको मुख्य बन्दरगाह चटगाउँ नजिक रहेको सिपिङ कन्टेनर डिपोमा आगो लाग्दा नौ जना अग्निनियन्त्रकसहित ४१ जनाले ज्यान गुमाएका थिए भने एक सयभन्दा बढी घाइते भएका थिए । सिन्ह्वा