परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली



नेकपा एमाले अध्यक्ष केपी शर्माले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘पाकिस्तानी शैलीमा परमादेशबाट सरकार गठन हुन थालेपछि आज सर्वोच्च अदालतमा समस्या देखिएको छ। श्रीमान् न्यायाधीशहरुले कस कसले के गर्नु भएको थियो । अलि खुलेको छ,’ अध्यक्ष ओलीले भने, ‘एक जना मात्रै होइन परमादेश पाँच जनाले सर्वसम्मत फैसला गरेको होइन । एक जना मात्रै किन राजीनामा गर्नु भएको छ ? पाँचै जनाले राजीनामा गर्ने होइन? सर्वसम्मत निर्णयको सुगन्ध र दुर्गन्ध के थियो ?’


ओलीले बार र वकिलले संसद् विघटनको समयमा बार र वकिलले इजलास तोक्ने काम गरेको आरोप लगाए । ‘यो न्यायाधीश राख्नु हुन्छ यो न्यायाधीश राख्नु पर्छ भन्ने, बस्छु भन्नेलाई हटाएको होइन ? बार र वकिलले बेन्च गठन गर्ने काम भयो,’ उनले भने,’ हुँदै नभएको आधारमा राष्ट्रपतिलाई परमादेश जारी गरिएको छ ।’

आज एमालेको पालिका अधिवेशनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै ओलीले परमादेशबाट सरकार बनेपछि अदालतमा पनि समस्या देखिएको बताए। ‘एक जनाले मात्र होइन परमादेश दिने पाँचै जनाले सर्वसम्मत फैसला गरेको होइन? एक जनाले मात्रै राजीनामा गर्ने? पाँचै जनाले राजीनामा गर्ने होइन?,’ उनले भने।

गत असार २८ मा सर्वोच्चले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। परमादेशपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्रीबाट हटेका थिए भने देउवा असार २९ मा गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका थिए।