काठमाडौं । विश्वकपमा छनोट भएको नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । युएईमा भएको विश्वकप छनोट खेलेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने सुनिश्चित गरी टोली शुक्रबार साझा स्वदेश फर्किएको हो ।
आइसिसी यू-१९ विश्वकप एशिया छनोटको बिहीवार सम्पन्न खेलमा युएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो । यस जितसँगै नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने पक्का भएको थियो ।
नेपाल आएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक जगत टमाटाले नेपालको फिल्डङ र बलिङका कारण विश्वकपमा छनोट भएको बताए ।
त्यस्तै यु १९ टोलीका कप्तान देव खनालले सबै खेलाडीको मिहेनतले विश्वकपमा छनोट भएको बताए ।
नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ को यु–१९ विश्वकप खेलेको थियो ।