धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले आज (शुक्रबार) प्रदेशसभा सचिवालयलाई आइतबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन अनुरोध गर्दै पत्र पठाएका छन् ।
सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी व्यवस्थापन मिलाउने काम भइरहेको जानकारी दिए ।
‘मुख्यमन्त्री ज्यूले २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन भनेर सचिवालयलाई पत्राचार गर्नुभएको छ,’ प्रदेश सभामुख भीमबहादुर भण्डारीले भने, ‘त्यसै अनुसार तयारी गर्न सचिवालयलाई निर्देशन दिएको छु ।’
मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि २६ माघमा एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलको नेताको हैसियतमा सोही दिन शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
राष्ट्रपतिको निर्वाचनलाई लिएर केन्द्रमा नयाँ समीकरण बनेर पूरानै गठबन्धन ब्युँतिएपछि शाहले विश्वासको मत लिने तयारी गरेका हुन् । शाहलाई स्वतन्त्र प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशीसहित नेकपा माओवादी केन्द्रका सभामुख बाहेकका १०, नागरिक उन्मुक्ति पार्टीका ७ जनाले समेत विश्वासको मत दिने दाबी गरिएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा २७ जनाको समर्थन आवश्यक पर्ने छ ।