८ कात्तिक । टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको ऐतिहासिक जीत हासिल गरेको छ ।
भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा पछ्याएको हो । पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेले । योसँगै विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
यो जित पाकिस्तानका लागि नयाँ इतिहास हो किनकी विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो। यसअघि भारतविरूद्ध एकदिवसीय र टी-२० विश्वकपमा खेलेका सबै १२ खेलमा पाकिस्तान पराजित भएको थियो।
सन् १९९२ देखि विश्वकपमा खेलेका सबै खेलमा हार बेहोरेको पाकिस्तानले २९ वर्षपछि भारतमाथि जित हात पारेको हो।