प्रयोगविहीन बन्दै आयुर्वेदिक औषधालय



काठमाडाैँ । उपचार प्रभावकारी हुने भए पनि सिन्धुपाल्चोकमा रहेका आयुर्वेदिक औषधालयमा सेवाग्राहीको खासै ध्यान जान सकेको छैन । एलोपेथिक औषधिले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको हो । तर आयुर्वेद उपचारमार्फत पनि रोग निको हुने भएकाले यसको प्रचारप्रसार गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले मङ्गलबार आयोजना गरेको स्थानीयस्तरका पत्रकारसँग आयुर्वेद सेवाको प्रवर्द्धनसम्बन्धी अन्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष जीवन श्रेष्ठले आयुर्वेद उपचारमा चेतना विस्तार आवश्यक रहेको बताए ।


आयुर्वेदिक औषधिको प्रयोगमा सञ्चारकर्मी, जनप्रतिनिधि र यसमा संलग्नले प्रचारप्रसार गर्नुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराका अध्यक्ष कमल अधिकारीले कृत्रिम औषधिले स्वास्थ्यमा असर गर्ने भएकाले जिल्लामा रहेका महत्त्वपूर्ण जडीबुटीको प्रयोग गर्दै प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अञ्जु कार्कीले केन्द्रमा अम्लपित्त, कब्जियत, अतिसार, मधुमेह, उच्च रक्तचाप, स्त्रीरोग, दम खोकी, श्वासप्रश्वाससम्बन्धी उपचार हुँदै आएको बताए ।

जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसहित छ आयुर्वेदिक औषधालय र पाँच आरोग्य सेवा केन्द्र रहेको केन्द्रका प्रमुख डा कार्कीले जानकारी गराए । केन्द्रबाट २३ थरीका औषधि निःशुल्क वितरण भइरहेको भए पनि उचित प्रचारप्रसार र सेवाग्राहीमा विश्वास दिलाउन नसक्दा आयुर्वेदिक औषधालय ओझेलमा परेको उहाँको धारणा छ । बाह्रवटा स्थानीय तह रहेको जिल्लाका जुगल, हेलम्बु, इन्द्रावती र भोटेकोशी गाउँपालिकामा भने आयुर्वेदिक औषधालय स्थापना हुन सकेको छैन ।