खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिन सकेको छैन । ठेक्का लागेको लामो समय बितिसक्दा पनि राष्ट्रिय गौरवको किमाथाङ्का–विराटनगर कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने काम सुस्त गतिमा छ । ठेक्का लागेको १९ महिनामा करिब १७ प्रतिशत मात्रै काम भएको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले जानकारी दिए ।
सम्झौताअनुसार अब यो सडकखण्ड ११ महिनामा निर्माण सम्पन्न गरिसक्नुपर्छ । विसं २०७८ को असार १७ गते उत्तर–दक्षिण कोशी सडक योजनाले ठेक्का सम्झौता गरेको खाँदबारी–थामसेर्कु १४ किलोमिटर सडकको कालोपत्र गर्ने काम १७ प्रतिशत मात्रै भएको छ । थामसेर्कु–कप्ताने १२ किमी सडकमा १५ प्रतिशत र कप्ताने–नुम सडकको १३ किमी सडकमा पनि १७ प्रतिशत मात्रै काम भएको छ ।
खाँदबारीबाट चीनको सीमावर्ती किमाथाङ्कासम्म सडकको लम्बाइ एक सय ६२ किलोमिटर छ । उत्तर–दक्षिण कोशी योजनाले ट्र्याक खुलेको एक सय ३९ किलोमिटरमध्ये ३९ किलोमिटर सडक कालोपत्र गर्न लागेको हो । कालोपत्र गर्ने काममा ढिलाइ हुनुमा निर्माण सामग्रीमा भएको मूल्य वृद्धि र वर्षाको बेला काम गर्न नसकेको बहाना बनाइएको छ । रु एक अर्ब २८ करोडमा कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले विभिन्न बहाना बनाएर काम नगर्दा स्थानीयवासीले सास्ती खेप्नु परिरहेको छ ।
कालोपत्र गर्ने भनिएको ३९ किलोमिटर सडकमा ठेकेदार कम्पनीले ठाउँठाउँमा ग्याबिन तारजाली लगाएर चौडा बनाउने र नाली निर्माणलगायतका सामान्य काम मात्रै गरेको छ । यो सडकखण्ड ठेकेदार कम्पनीले विसं २०८० पुस १३ सम्ममा सम्पन्न गरिसक्नुपर्ने छ तर कामको गति हेर्दा यो समयमा सम्पन्न गर्न कठिन देखिन्छ ।