बाँकेको नानापुर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै



बाँके । बाँकेको डुडुवा गाउँपाललिका–५ स्थित नानापुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सामुदायिक वन उपभोक्ता समितिको करिब दुई बिघा जमिनमा बनाइएको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक पर्यटकले आन्नद लिइरहेका छन् । ‘लायन्स पार्क’ नाम दिइएको सो स्थानमा लायन्स स्तम्भ, सेल्फी जोन, गोल घर, कार्यक्रम कक्षलगायतको निर्माणमा रु १७ लाख बराबर खर्च भएको बावुकुवा सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

उहाँले पर्यटन प्रवद्र्धनका लागि सामुदायिक वनसँग आन्तरिक सहमति गरेर त्यस क्षेत्रमा पर्यटकीय आर्कषण बढाउन विभिन्न योजना अघि सारिएको बताए । नेपालगञ्ज बजारबाट करिब पाँच किलोमिटर दूरीको उत्तर–पूर्वमा पर्ने सो स्थान शान्त र रमणीय देखिन्छ । वन जङ्गलसँगै प्राकृतिक सौन्दर्य र हरियालीले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याइरहेको हुन्छ । उक्त स्थानको वनमा जङ्गली जनावरको बासस्थान रहेकाले पर्यटकले जनावरबाट पनि छुट्टै आनन्द लिन सक्छन् ।


“यहाँ रहेको स्थानमा तारबार गरेर बाह्सिङ्गेलाई संरक्षण गरेर राख्न सकिने र त्यसबाट अझै बढी आन्तरिक पर्यटन भित्र्याउन सकिन्छ” पूर्वअध्यक्ष शाहीले भने । डब्लुडब्लु एफको सहयोगमा करिब दुई बिघा जमिनमा करिब रु १४ लाख खर्च गरेर निर्माण गरिएको तलाउले जैविक विविधिता र स्थानीय किसानको खेतमा चिस्यानसमेत प्रदान गरेको उनले उल्लेख गरे । उक्त पार्कबाट केही पर परापूर्वकालमा एक बाबाले कुँवा खनेर पानी खाने गरेका कारण बावुकुँवा नामाकरण गरिएको बताइन्छ ।

पूर्वअध्यक्ष शाहीले जैविक विविधता संरक्षण गर्न र जङ्गली जनावरलाई पानी खान बस्तीमा जान जोखिम भएकोले थाकेका जनावरलाई पानी खान तलाउ निर्माण गरिएको जानकारी दिए । सिद्धीविनायक लायन्स क्लब अफ नेपालगञ्जका पूर्वअध्यक्ष शिवेन्द्र भण्डारीले पर्यटन पवद्र्धको उद्देश्यले त्यस क्षेत्रको विकास गर्न खोजिएको र यसका लागि करिव रु १० करोड लाग्ने बताए ।

“नेपालगञ्ज बजारबाट नजिकै पर्ने हराभरा र रमणीयस्थलले सबैलाई लोभ्याइरहेको छ”उनले भने । लियो क्लब अफ नेपालगञ्जका पूर्वअध्यक्ष तथा युवा व्यवसायी विष्णु श्रेष्ठले त्यहाँ पर्यटनको प्रचुर सम्भावना रहेकाले पार्कलाई अझ रमणीय बनाउन फूलबारीको विकासमा जोड दिन आग्रह गरे । उनले पर्यटकलाई फोटो खिच्न लालयित बनाउन र केही घण्टा भुल्ने वातावरण निर्माण गनुपर्नेमा जोड दिँदै पछिल्लो समय मनोरन्जनका लागि बबई र कर्णली जाने अवस्था अन्त्य भएको बताए ।

पर्यटकका लागि तलाउमा फिसिङ् गरेर मनोरञ्जन लिने नयाँ अवधारणा अघि ल्याउन आवश्यक भएको र यसका लागि स्थानीय समुदायको सहकार्यमा घरबास कार्यकम अघि बढाउन सकिने विश्वास पूर्वअध्यक्ष श्रेष्ठले व्यक्त गरे ।

‘‘सो कार्यका लागि लगानी आवश्यक हुन्छ त्यसैले सम्भावनाबारे अध्ययन गरेर, “कप्पल पार्क” का रुपमा पनि यसलाई स्थापित गर्न सकिन्छ’ उनले भने । डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले गाउँपालिकाको सिधिनियाघाट, कम्दीलागयत क्षेत्रमा पनि पर्यटकीय सम्भावना देखिए पनि बजेट अभावले संरचना तयार गर्न नसकिएको बताए ।

“धेरै पर्यटकीय सम्भावना भएका क्षेत्र छन् तर बजेट नहुँदा त्यहाँको विकास गर्न सकिएको छैन” उनले भने । शनिबार वा सार्वजनिक बिदाको दिन नेपालगञ्ज बजारबाट नजिकै रहेको सो स्थानमा वनभोज खान र घुम्न स्थानीयवासी जाने गर्छन् ।