काठमाडाैँ । नेकपा एमालेले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बर्खास्ती गर्ने सम्मको धम्की दिएपछि सरकार छोडेको स्पष्ट पारेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रचण्डले स्वेच्छाले नहटे हटाउनेसम्मको धम्की दिएको बताएका छन् ।
एमाले सचिवालय बैठकपछि पौडेलले भने, ‘एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई प्रधानमन्त्री ज्यूले जुन खालको व्यवहार गर्नुभयो । त्यो देखेर हाम्रो चित्त बुझेन । स्वेच्छाले सरकार नछाडे विना विभागीयमन्त्री बनाउनेदेखि हटाउनेसम्मका अभिव्यक्ति दिएपछि सरकारबाट बाहिरिएका हौं ।’
एमाले उपाध्यक्ष पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायम राखिराख्ने कोशिस भए पनि प्रधानमन्त्रीबाट फरक ढंगको व्यवहार भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको बताए ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रदेश सरकारका विषयमा कुनै निर्णय नभएको बताएका छन् । संघीय सरकारबाट बाहिरिने र समर्थन फिर्ता हुने निर्णय मात्र भएको पौडेलले बताए ।
‘हामीले संघीय सरकारबाट बाहिरिने निर्णय गरेका छौं । सरकारलाई दिएको समर्थन फिर्ता समेत लिएका छौं’ पौडेलले भने, ‘प्रदेश सरकारका विषयमा कुनै छलफल वा निर्णय भएको छैन । प्रदेश सरकार तत्काल यथावत रहन्छन् ।’